पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन्।
कीर्तिमानी वार्षिक १७७ मिलियन पाउण्डमा उनी ३ वर्षका लागि आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन्।
३७ वर्षीय रोनाल्डोले फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक लिएर एसियाली मुलुक साउदी गएका हुन्।
उनले साउदी क्लबसँग सम्झौता गर्दै आफू अर्को देशमा नयाँ फुटबल लिगको अनुभव गर्न उत्सुक रहेको बताए।
‘म भाग्यमानी छु कि मैले युरोपेली फुटबलमा जित्नका लागि सेट गरेको सबै कुरा जितेको छु र अहिले एसियामा मेरो अनुभव बाँड्ने यो सही समय हो भन्ने महसुस गरिरहेको छु,’ उनले भने।
नौ पटकको साउदी प्रो लिग च्याम्पियन अल नासरले रोनाल्डोलाई क्लबमा भित्र्याउनु नै इतिहास निर्माण गरेको बताएको छ।
‘यसले हाम्रो लिग, राष्ट्र र भावी पुस्तालाई उत्कृष्ट संस्करण हुन प्रेरित गर्नेछ’, क्लबले भनेको छ।
रोनाल्डोले सन् २००२ सेप्टेम्बर २९ मा स्पोर्टिङ लिस्बनका लागि ब्रागाविरुद्ध खेल्दै क्लब फुटबलमा डेब्यु गरेका थिए। रोनाल्डोले लिस्बनका लागि ३१ खेलमा ५ गोल गरेका थिए।
त्यसपछि म्यानचेस्टर युनाइटेडका लागि उनले सन् २००३ देखि २००९ सम्म २ सय ९२ खेलमा १ सय १८ गोल गरे।
रियल म्याड्रिड उनको करिअरको सर्वाधिक सफल क्लबको रुपमा रह्यो। उनले सन् २००९ देखि २०१८ सम्म ४ सय ३८ खेल खेल्दै ४ सय ५० गोल गरे। युभेन्टसमा ३ सिजन बिताएका उनले १ सय ३४ खेलमा १ सय १ गोल गरे । म्यानचेस्टर युनाइटेडका लागि गत सिजन ३८ खेलमा २४ गोल गरे।
युनाइटेडसँगको समय बाँकी रहँदै उनले आपसी सहमतिमा सम्झौता तोडेका थिए।
रोनाल्डो भर्खरै कतारमा भएको विश्वकपमा पोर्चुगललाई क्वार्टरफाइनलसम्म पुर्याएर फर्केका हुन्। जहाँ उनले घाना विरुद्ध आफ्नो पक्षको सुरुवाती जितमा आफ्नो स्ट्राइकको साथ पाँच फरक फिफा विश्वकपमा गोल गर्ने पहिलो व्यक्ति बनेका थिए।