काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी हटाउन गृह मन्त्रालयसँग आवश्यक सहयोग मागेको छ ।
बुधबार महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मन्त्रालयलाई पत्र लेख्दै थापाथलीस्थित वागमती किनारका अव्यवस्थित र अनाधिकृत संरचना हटाइ त्यहाँको सौन्दर्यीकरणका लागि आवश्यक सहयोग माग गरिएको हो ।
पत्रमा भनिएको छ, ‘वाग्मती किनारामा अव्यवस्थित तथा अनाधिकृत रुपमार हेको संरचना हटाई सो क्षेत्रको संरक्षण एंव सौन्दर्यीकरण गर्ने काय तत्काल अघि बढाउन सफल हुनसकेको अवस्था छैन । थापाथलीको संरचना हटाई सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकाले आवश्यक सहयोग एंव समन्वयकालागि अनुरोध छ।’
थापाथलीको सुकुम्बासी बस्ती हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय गर्न पनि महानगरले पत्रमार्फत् अनुरोध गरेको छ।
वागमती क्षेत्रको सौन्दर्यीकरण बढाउनका लागि वागमभी सभ्यता एकीकृत विकास परियोजनासमेतबाट उक्त क्षेत्रको अनाधिकृत संरचना हटाउन अनुरोध गरिए पनि सफल हुन नसकेको पत्रमा उल्लेख छ ।
यसअघि काठमाडौं महानगरले थापाथलीको सुकुम्बासीबस्ती हटाउन डोजरै चलाएपछि दुई पक्षबीच तनाव उत्पन्न भएको थियो । तनावका बीच पनि महानगरले बलजफ्ती अनाधिकृत संरचना भत्काउन खोज्दा त्यहाँका स्थानीय भाला, खुकुरीसहित भौतिक आक्रमणमा उत्रिएका थिए । स्थानीय भौतिक आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।
स्थानीयको विरोध प्रदर्शनपछि महानगर चुपचाप थियो । तर, गृह मन्त्रालयमा रवि लामिछानेको प्रवेशसँगै महानगरका मेयर बालेन्द्र शाहले पत्रमार्फत नै थापाथलीको सुकुम्बासी बस्ती हटाउन आवश्यक सहयोग मागेका छन् ।
