नेकपा एकीकृत समाजवादीले आज शनिबार स्थायी कमिटी बैठक बोलाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि सरकारलाई दिने समर्थन र सहभागिताको विषयलाई टुंगो लगाउन बैठक बोलाइएको हो।
आजको स्थायी कमिटी बैठकमा निर्वाचनको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सरकार र गठबन्धनमा सहभागी हुने वा नहुने, सरकारलाई समर्थन गर्नेबारे निर्णय लिन बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
एकीकृत समाजवादीका सांसद तथा नेताहरुले नयाँ सत्ता गठबन्धनमा सामेल हुनुपर्ने भन्दै अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाललाई दबाब दिइरहेका छन्। एकीकृत समाजवादीभित्र गठबन्धनमा आबद्ध हुन नसके सांसदहरु जोगाउन नसकिने चिन्ता देखिएको पार्टीभित्र नेताहरु बताउन थालेका छन्।
नेताहरुले सत्ता गठबन्धनसँग मिलेर नगए यस अगाडि पाएका धेरै पद पनि गुमाउनुपर्ने अवस्था आउने भन्दै नेतृत्वसँग चिन्ता व्यक्त गरेका छन्। एकीकृत समाजवादी पार्टी गत मंसिर ४ गते भएको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न सकेन। अध्यक्ष नेपालले पार्टीभित्र छलफल गर्दा गठबन्धनमा जान हुने र नहुने मिश्रित सुझाव आएको छ।
एमाले नेतृत्वमा नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी रहेका छन्। प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन नेपाललाई सत्तारुढ दलका नेताहरूले पनि आग्रह गर्दै आएका छन्। प्रधानमन्त्री प्रचण्डसहित एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, नेता महेश बस्नेतलगायत माओवादी केन्द्रका नेताहरूले समेत सरकारमा सहभागी हुन नेपाललाई आग्रह गर्दै आएका छन्।
नयाँ समीकरणपश्चात बुधबार प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो। भेटमा प्रचण्डले नेपाललाई गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए। प्रचण्डसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रपतिको आकांक्षा राखेको स्रोतले जनाएको छ। पछिल्लो समयमा ओली र नेपालबीच भेट गराउन प्रचण्ड पनि लागि परेका छन्।