सभामुखमा एमालेका पाँच नेताको दाबी


सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र एमालेबीच प्रधानमन्त्री र सभामुख आधा आधा कार्यकाल भागबण्डा गर्ने सहमति भएको छ। जस अनुसार पहिलो कार्यकाल माओवादीले प्रधानमन्त्री चलाउने र एमालेले पहिलो कार्यकाल सभामुख चलाउने भएका छन्।

सोही अनुसार, पुस १० मा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भइसकेका छन् भने एमालेको भागमा परेको सभामुखका लागि निर्वाचन प्रक्रिया शुरू गर्न लागिएको छ। प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी संसद् सचिवालयले गरेको छ।

सभामुखका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, रघुवीर महासेठ, रघुजी पन्त र विद्या भट्टराईको नाम चर्चामा छ। उनीहरू सभामुखका लागि लबिइङ गरिरहेको एमालेका एक नेताले बताए। “पाँचै जनाले आफ्ना कुरा अध्यक्ष समक्ष राखिसकेका छन्,” ती नेताले भने।

सभामुखका लागि आफ्नो दाबी स्वाभाविक भएको उपमहासचिव गुरुङले बताए। यसबारे पार्टी नेतृत्व समक्ष आफ्नो दाबी पेश गरिसकेको उनको भनाइ छ। सभामुखमा दाबी गरेका गुरुङ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री हुन्। उनी लमजुङबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभामा पुगेका छन्।

त्यस्तै, एमाले सचिव विश्वकर्माले भने यो विषय छलफलको क्रममा रहेको प्रतिक्रिया दिए। उनी रुपन्देहीबाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।

सभामुखका लागि एमाले नेताहरू पनि दुई समूहमा विभाजित भएका छन्। गुरुङ सिनियर र संसदीय राजनीति तथा पार्टी राजनीतिमा सफल नेता भएकाले उनलाई सभामुख बनाउनुपर्ने एक पक्षको लबिइङ छ। अर्को पक्षले पार्टी राजनीति तथा संसदीय राजनीति दुवैमा राम्रो भूमिका खेलिसकेका नेता भएको र दलित समुदायबाट पनि प्रतिनिधित्व गर्ने भएकाले विश्वकर्मालाई सभामुख बनाउँदा सकारात्मक सन्देश जाने भन्दै लबिइङ गरिरहेको छ।

मुख्य दाबेदार दुई नेता देखिए पनि महासेठ, पन्त र भट्टराईको नाममा पार्टी पंक्तिभित्र चर्चा भइरहेको छ। कसलाई सभामुखको उम्मेदवार बनाउने भन्ने विषयमा एमालेले निर्णय गरिसकेको छैन।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال